30 Days in September हेरेपछी मैले पनि महशुस गरे म गलत थिईन । एउटा अनौठो उर्जा प्राप्त भयो र यो सम्म भन्ने आँट गरेकी माला मेरो बाल्यकालको प्रतिनिधी पात्र रहिछिन । जब म ८-९ वर्षकी थिए, बिदाको दिनमा दिउँसो कोहि नभएको मौकामा आफ्नो काका पर्नेको छोरा (नातामा मेरो दाई)ले मलाई पनि त्यसरी नै यौन शोषण गर्थ्यो । सायद मलाई त्यति बेला नै थाहा थियो यस्तो गर्नु नराम्रो काम हो । त्यसैले त बारम्बार पिडित हुदाँ पनि मैले न मेरी आमालाई यो कुरा व्यक्त गरे न हजुरआमालाई ।
म को ? नाम भन्नै पर्छ र ? नभने नि हुन्न ? मेरो नाम सुमन नेपाल (परिवर्तित नाम) । मानसिक समस्याबाट ग्रस्त मालालाई आफु पिडित हुनुमा आमा मुख्य दोषि ठान्छिन र आफुलाई पनि । तर म आफै मात्र गलत छु भन्ने ठान्थे र आजसम्म पनि यो कुरा कसैलाई व्यक्त गरेकी थिईन । नाटकमा प्रस्तुत प्रत्येक कुरा निकै जिवन्त ढङ्गबाट देखाईएको छ, हेर्दा हेर्दै आफै कतिबेला माला भएछु अनि त्यो पिडक दाजु बिनय मामा भएछ थाहा नै भएन ।
नाटकमा प्रस्तुत विषयवस्तुलाई एउटा पिडक र अर्को पिडितको नजरबाट सामाजिक परिस्थितीलाई हेर्न सकिन्छ । पिडक: जसले एउटा बालिकालाई कुदृिष्टले हेर्थ्यो, ऊ स्वतन्त्र जीवन बाँचिरहेको, आनन्दित छ, समाजमा प्रतिष्ठत ब्यक्ति छ । उसमा कुनैपनि प्रकारको लज्जाबोध र हिनताबोध छैन बरु उसको साटो जो पिडित बालिका छे, ऊ पो हिनताबोध गर्छे, शारीरिक सम्बन्ध के हो भन्ने नबुझ्ने उमेरमै उ शोषित भई आज ऊ निकै झगडालु र अब्यवहारिक छे घरमा, कलगर्ल बन्न पुग्छे समाजमा, उसका कारणले अरुका पनि सम्बन्धहरु बिग्रिन्छन ।
माला सात वर्षकी हुदाँबाट शुरु भएको दुखद जिवन निरन्तर चलिराख्यो जबसम्म उसको जिवनमा दिपकको उज्यालो छरिएर आएन । आखिर माला निर्दोष भएर पनि दोषी ठान्थी आफुलाई, माला जस्तो…… हैन-हैन म जस्तो कैयौ छन् यो समाजमा जसलाई सामाजिक परिस्थितिले गर्दा दोषी बनाईएको छ । आफै पिडित भएर पनि अपराधी देखिन पुगेकाछन । र अपराधको पिडा बोध सँगै सजाय काटी रहेका छन् ।
माला भन्दा मैले आफुलाई भाग्यमानी ठान्नैपर्छ किनकी ऊ लगातार लामो समय सम्म, धेरै वर्ष पिडित भई, तर मेरो हकमा त्यो क्रम केवल २-३ वर्ष जति चल्यो र छुट्यो । यदि निरन्तर भईराखेको भए मेरो अवस्था मालाको भन्दा कम हुने थिएन । हामीलाई सामाजिकिकरण गर्दा कुनै प्रकारका त्यस्ता घटना भए अभिब्यक्त गर्नुपर्छ र ति घटनामा तिम्रो कुनै गल्ति हुनेछैन भन्ने सिकाएको भए आज १३ वर्ष लाग्ने थिएन होला । केवल पानामा आफुलाई पोख्न अनि म गलत थिइन भन्नेकुरा थाहा पाउन नाटक हेरिरहनु पर्ने थिएन ।
Share on Twitter Share on Facebook