मानवताको खोजीमा नाटक सम्बोधी

नाटक सम्बोधी हेरेपछि मनमा आएका भावनाहरु थिएटर मलमा यो मेरो पहिलो पटक हो । नाटक सम्बोधीले मलाई यस थिएटरको अनुभव लिने मौका जुरायो । यो काठमाडौं मलको सबै भन्दा माथिल्लो तल्लामा छ । हल चिटिक्कको लाग्यो । हलसँग पश्चिम तिर छ सानो लाइब्रेरी सहितको कित्ली क्याफे । क्याफेबाट धरहरा, स्वयम्भू आदि ठाउँहरु नियाल्न सकिन्छ । तबला, गितार आदिको संगीतबाट हल गुञ्जयमान थियो । नाटक सम्बोधीको घट्ना प्रति उत्सुक हुँदै तेर्सो लाइनको बीच तिर गएर बसेँ । नाटक सुरु भयो ।

एम्बुलेन्सको साइरन र सेटमा हरियो कपडा लगाइएको हस्पीटलबाट सुरु भयो नाटक । एउटा पात्र जो मानसिक रुपमा विचलित भएको छिन । उनी घट्नाहरु सम्झीने कोशिसमा छिन् । उनको सम्झनामा…… तर श्रीमान मर्छ उनी हस्पिटलमा उपचाररत हुन्छिन् ।….

मैले नाटकको घट्नालाई यसरी सम्झिए । नाटकमा सबै पात्रको बेजोड अभिनय लाग्यो । मुख्य पात्रमा हुनु भएकी नेहाको भूमिका कहिले छोरी, कहिले श्रीमति, कहिले बुहारी को छ । उहाँले सबै भूमिकालाई न्याय गर्नुभएको छ । साथै उहाँको श्रीमानको पात्रमा हुनु भएको अनिल भाई अभिनय उत्तीकै जीवन्त छ । उहाँहरुको जीवन्त अभिनयले हाम्रो समाजको समाजिक चेतन स्तर सोच्न बाध्य बनायो । जीवनमा नजिक ठानिएका सम्बन्धहरुबाटै पिडीत हुन्छन् नारीहरु । नारीहरुलाई पीडा माथि पीडा दिने घिनलाग्दो पुरुषार्थ बोकेको हाम्रो समाजको मानवताहीन परम्परा नाटकमा जीवन्त देखियो । नाटकको मुख्य पात्र आफ्नै भाईबाट बलत्कृत हुँदा आङनै सिरिङ् भयो । समाजमा यस्ता अनैतिक, दानव, यौनपिपासु दाजुभाई हुँदा रहेछन जसले आफ्नै दिदिबहिनीलाई समेत सिकार बनाउँदा रहेछन् । र त्यसमाथि दुख लाग्दो कुरा यो समाज उही पिडीत नारीलाई नै दोष देखाउँछ ।

अनि मलाई आफु बाँचेको आदर्श, सभ्य समाजप्रति शंका लागेर आयो । सभ्य आदर्श मानिने मानिसहरुप्रति शंकै शंकाका प्रश्नहरु उब्जीन थाले । मलाई यो नाटक हेरेपछि एउटा डर लागिरहेको छ मनमा । जब समाजमा हामीबाट अर्को पुस्ताले समाजको सभ्यता र आदर्श सिक्दै हुनेछ त्यतिबेला पनि महिला हिंसाको घट्ना घट्यो भने हामीले आफुहरुलाई आधुनिक युगको समाजिक मान्छे भन्ने हो कि असमाजिक मान्छे भन्ने हो । या हामी युगौँ युगसम्म गैर नैतिक, असामाजिक , हिंस्रक, संवेदनहिन प्राणी मात्रै हौँ । नाटक सम्बोधीले समाजका विसंगति र विकृतिहरु र खासमा महिला हिंसा देखाएको छ । यसबाट मैले समाजमा मानवता खोज्नु पर्ने स्थिति बुझेँ । नाटकको लेखक तथा निर्देशक राम केएसी दाईलाई र थिएटर मललाई धन्यवाद ।