तिमी र म जो छौँ
हाम्रा लागि यत्ति नै काफी छ
किनभने
यसभित्र हामीलाई पुग्दो मृत्यु छ ।–जसराज किराँती–
…………………………………………………………………………………………………………………
अलिकति निंद्रा उनको मजेत्रोमा अल्झिएको थियो ।
असोजका सिन्दुरे साँझहरु – उत्सवमा रमाउने बच्चाहरुको चिरबिर चिरबिर आवाज । दिनभरी उँडेर थकाई मारेको चंगाको खिइँदै गरेको धागो । यस्तो बेला सम्बन्धका आयामहरुको लेखाजोखा फरक किसिमले गरिन्छ । लेख्दा लेख्दै फिल्मजस्तै भएको नाटकको पाण्डुलिपि सिरानी छेउमा छोडेर झ्याल खोलेँ । फेरी उसैगरी शारदीय हावाले छोएर गयो । आकाशको सतहमा सायद सबैभन्दा सुन्दर रंगहरु पोतिएका थिए । एकअर्कासित बानी पर्दै जानु भनेको सहज हुँदै जानु हो र हरेक सहजतासँगसँगै अधिकार पनि बस्दै जान्छ तर कहिलेकाहीँ प्रेमीहरु एकअर्कालाई केही नभनिकनै लामो यात्राभरी सँगै रहन्छन् । जुन स्वभावको बानी परिसकेको हुन्थ्यो, ती स्वभाव नै पनि छुट्छन् कहिलेकाहीँ । सम्बन्धमा अनेकथरी गुनासा हुन्छन् । ती हुँदाखेरी जिन्दगी जति नमिल्दो लाग्छ, ती नहुँदाखेरी पनि उत्तिकै नमिलेका लाग्छन् सबथोक ।
सम्बन्ध जोडिँदाखेरी/सम्बन्ध छुट्दाखेरी – मौसम, रंग अनि साँझका गीतहरु फरक हुन्छन् होला । तर म सम्बन्धको समीक्षा गर्न नपरोस् भन्छु । कुनै समीक्षाबिना प्रेमिल गीत सुनेर बस्नु मेरा लागि सर्वाधिक एकान्त क्षण हो । म फेरी असोजका सिन्दुरे साँझहरु पर्खिरहेको छु ।
…………………………………………………………………………………………………………………
निर्मल बर्माका कथा अनि गुल्जारका फिल्म – यी दुईलाई छिचोल्नुअघि म निकै डराउने गर्छु । यीनका कथानक, पात्र अनि पात्रका अन्तर्ध्वनिहरुमा आफूलाई “रिलेट” गर्ने ठाउँ प्रशस्तै भेटिन्छन् । यीनले मलाई सधैँ थप कमजोर बनाएर जान्छन् । सम्बन्धमा आशा, विश्वास र सपना मात्रै हुँदैनन् । फ्यान्टासीका केही अंशहरुमा थोरै व्यवहार र परिस्थितिजन्य वाध्यताहरु पनि मिसिएका हुन्छन् । केही दोष अनि केही स्वीकारोक्तिका बीचमा अलिअलि दबाब, संशय र धेरै डर ओढेर हामी बाँच्छौँ । केही गर्न खोज्नुको डर/केही नगरेको डर; केही भन्न मन लाग्नुको डर/केही भन्न नसक्नुको डर । एउटा मान्छे जब निरन्तर आरोपित हुन्छ, उसका चेतनाहरु निस्कृय हुँदै जान्छन् । केही आरोपहरु उसले नबिर्सिनेगरी कतै अवचेतनमा गढेर बसिरहन्छन् । विस्तारै केही निषेधहरु गह्रुङ्गो भएर सम्बन्धका वरपर घुम्छन् । अनि जब एकजनाकै विचारहरु मात्रै घरीघरी निषेधित भइराख्छन्, त्यतिखेर उसका अठोटहरु घट्दै जान्छन् । सानले छाती तन्काएर “म आफूलाई मन लागेको गर्छु” भन्नेहरु पनि हरेक साना–ठूला कुराहरुमा अनुमती मागिरहनुपर्ने हुन थाल्छन् । हरेक साना–ठूला कुराहरुमा निषेधित भइराख्नु भनेको एउटा मान्छेको आत्मसम्मान ओह्रालो लाग्दै जानु हो । तर, यी सबैको जोड–घटाउमा आफसेआफ एकखाले सन्तुलन बनिरहेको हुन्छ । र सायद, सम्बन्धको सबैभन्दा सुन्दर पक्ष नै यही हो ।
निर्मल बर्मा हरेकखाले सम्बन्धहरुका प्रत्यक्षदर्शी हुन् भन्न मन लाग्छ किनभने संवेदनाका व्यक्तिगत अवस्थिति र तिनले निम्त्याउने विचारहरुका बीचमा उनले जति विश्वसनीय तरिकाले निकै कम लेखकले मात्रै सन्तुलन कायम गर्न सक्छन् । उनका कथाहरु मञ्चमा प्रस्तुत हुँदाखेरी कहीँ आफूलाई, कहीँ आफ्नालाई र कहीँ अरु धेरैलाई देखेँ । शब्दहरु किताबका पानाबाट कलाकारको ओठसम्म पुगेका थिए । ती ओठहरु कतैपनि थाकेनन् । बरु तीसँगसँगै हामीले आफूभित्रका पत्र–पत्र उप्काइरह्यौँ । कति दुख्यौँ, अहँ, भन्नै सकेनौँ ।
…………………………………………………………………………………………………………………
जति शाश्वत हुन्छ मृत्यु, उति नै शाश्वत सत्य हो जीवन बाँच्नु भनेको । युद्धका विभिषिकाहरुदेखि त्रस्त हुँदाहुँदै पनि प्रेमका गीतहरु रचना गरेर मान्छे बाँचेकै थिए ।
देख्दा एक्लै देखिएपनि मान्छे कहिल्यै एक्लै बाँच्दैन । एक्लोपन र एकान्त एउटै होइनन् कि जस्तो लाग्छ । एक्लोपन भन्ने बित्तिकै कताकता, चोटहरुको खातमात्रै बोकेर आफूलाई जिन्दगीको भरोसामा/भरोसाबेगर छोडिदिनु जस्तो लाग्छ तर एकान्त भन्नु धेरै अर्थमा उज्यालोतिरको हेराई हो झैँ मान्छु । अनि एकान्त मन पराउनुका दुईवटा सन्दर्भहरु हुन्छन् । कोही साँच्चैको एकान्तप्रेमी हुन्छन्, उनीहरुलाई एकान्त मनपर्छ । कोही चाहीँ यति धेरै एकान्त भोगेर भुक्तभोगी भइसकेका हुन्छन्, उनीहरुले विस्तारै एकान्तलाई प्रेम गर्न थाल्छन् । नाटक “तीन एकान्त” का तीनवटै एकान्त भोगाईहरु उज्यालोतिर उन्मुख भएका आशाका फूलहरु हुन् । तिनका पात्रहरु आफ्ना सम्बन्धका कथाहरुलाई आफूभित्रैका विरोध र आक्रोशहरुले सिँचिरहेका थिए । कहिलेकाहीँ म आफूपनि कुनै विरोधबिना, कुनै आवाजबिना उभिएझैँ देखिन्छु । किनभने, कागजका टुक्राहरुमा पोखिने आक्रोशहरु कहिलेकाहीँ अझै ज्यूँदा लाग्छन् । र म लक्षणामा लेख्छु ः
लीला यो सबै असिमित छ
जे जति रिस छ भगवानसित छ ।।
सम्बन्धका आरोह–अवरोहका बारेमा कसैसित निरन्तर भनिरहनु, या एकान्तमा सम्झिएर आफैँमात्रै भुट्भुटिरहनु – त्यो आफैँले आफैँलाई दिने अथाह पीडा हो । तर त्यो पीडाको गीत जब अन्तिम हरफसम्म पुग्छ, त्यहाँ मुक्तिको आभाष पनि हुन थाल्छ, जुन मुक्ति सायद, …… धे…रै वर्षसम्म अड्किएर बसेको थियो । अंग्रेजीमा दुईवटा शब्द जोडेर एकथोक भनिएको छ ः Cathartic Liberation. “तीन एकान्त” का तीनजना पात्रसँगै दर्शकले पनि आफूलाई संवेदनाहरुले एकफेर पखालिसक्छन् र भेटिसक्छन् एकफेर Cathartic Liberation.
…………………………………………………………………………………………………………………
अचानक सबथोक शून्य भयो । झ्यालभन्दा बाहिर र लामो बोर्डभन्दा भित्रपट्टी बीचको “स्लोप” मा एउटा मुसो अल्मलिएको थियो ।
अगाडी–अगाडी बत्तिँदै–रोकिँदै, बत्तिँदै–रोकिँदै गरेको बसको पछिल्तिर लेखिएको थियो, “पर्खी बस, फर्कि आउनेछु” । ती सन्देश कसका लागि लेखिएका होलान् भनेर कहिल्यै सोच्न खोजेको थिइनँ । अनायास सोचिदिन मन लाग्यो । ती फेरी फर्किने सन्देश बोकेर फर्किनकै लागि दौडिँदैछन् कि यसै जिन्दगीको बसिबियाँलो हो, अड्कल्नै सकिनँ ।
कोठाको पुरानो “एन्टिक” टि.भि. को कालो तार चुँडिनै आँटेको थियो । झरी पर्नुभन्दा एकछिन अगाडीको स्याइँइँइँय बतास……, र फेरी अचानक सबथोक शून्य भयो ।
“एकान्त”
का
अनेक
तस्बिरहरु
पातलो सेतो कपडालाई ढाकेको नीलो प्रकाश – त्यसमा देखिएको रुखको छायाँ, हाँगाहरुले बनाएका मसिना धर्साहरु अनि परसम्म फैलिएजसरी तिनले दिएको एउटा मिठो भ्रम ।
Share on Twitter Share on Facebook