Staged from Nov. 23, 2018 to Dec. 22, 2018
‘शकुन्तलाको औँठी’ साधारण मानिसका अति साधारण जीवनशैलीसँग सम्बन्धित अस्तित्ववादी नाटक हो । नाटकको शुरुवात संस्कृत नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सलबाट हुन्छ । लगभग जिन्दगीका सामान्य स्थिति र चरित्रहरूका बीचमा निर्देशक कुमारले यो नाटक निर्देशन गर्दैछ । नाटकमा एक अभिनेत्रीको खोजी हुन्छ । यसै बेला अभिनेत्री कनक आइ पुग्छिन् । अनायासै उनीहरु एक अर्कासँग नजिकिन पुग्छन् । कनकले शकुन्तलाको र कुमारले दुश्यन्तको भूमिका निर्बाह गर्छन् । उनीहरूको प्रेम कथा शकुन्तला र दुश्यन्तको कथा झैँ अगाडि बढ्छ । नाटकमा शकुन्तला गर्भवती हुँदा कनक पनि गर्भवती हुन्छिन् । नाटकमा दुष्यन्तले हराएको औंठी भेटाउँछ । तर के कुमारले पनि हराएको औंठी भेटाउलान् ? यही आशा र विश्वासको पराकाष्ठा हो ‘शकुन्तलाको औँठी’ ।
जब शुरुमा मैले ‘शकुन्तलाकी अंगुठी’ पढेँ, यसलाई मञ्चमा ल्याउने तीब्र इच्छा जाग्यो । इच्छा उसै जागेको हैन, रङ्गकर्मीको जीवन यात्रा र भोगाईलाई बोकेको यो नाटकलाई कहीँ न कहीँ म आफुसँग जोडिएको पाएँ । यद्यपि इच्छा जाग्नु र त्यसमा कोरिएको शैलीलाई ढंग पुर्याएर मञ्चमा उतार्नु, यी दुवै फरक कुरा हुन् । त्यसमाथि यो नाटकले महिला र पुरूषको सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । जसलाई प्रस्तुतिमा मिहिन तरिकाले ल्याउनु ठुलो चुनौति हो । अनुप सरले हरेक प्रस्तुति अगाडि भन्ने गर्नुहुन्छ ‘हामी सबै अदृष्य धागोमा बाँधिएका छौँ । त्यो अदृश्य धागोलाई आफ्नो अन्तरमा महशुस गर्नुस् ।’
अहिले यो प्रस्तुति बन्दै गर्दा दिया दिदी, देव सर, उत्सव लगायत नाटकमा आवद्ध साथीहरु बीच त्यही अदृश्य धागोले हामीलाई बाँधेको महशुस गरेको छु । सायद हामीलाई जोड्ने यो सुत्र नभएको भए यो प्रस्तुति पनि हुन्थेन ।
एक्टर्स स्टुडियो मेरालागि एउटा स्कुल मात्र हैन जीवन दर्शन पनि हो । म भर्खर बामे सर्दै गरेको व्यक्तिलाई यस्तो गहन नाटक पहिलो पटक निर्देशन गर्ने जिम्मेवारी दिनुभएकोमा म आभारी छु ।
के–कस्तो भयो, प्रतिक्रियाको अपेक्षा गर्दछु । जसले गर्दा आगामी दिनहरुमा अझ राम्रो काम गर्ने प्रयास गर्न सकुँ ।