Jalini (जालिनी)

Staged from Sept. 14, 2018 to Oct. 7, 2018

लोककथा शैलीको कथा हो, जालिनी । राजारानी, राजकुमार–राजकुमारी, वीर–वीरांगना, बुद्धिमान महिला तथा वृद्धवृद्धा र चतुर बालबालिकाको कथा, अलौकिक पात्र, परिवेश वा घटना, नीति शिक्षा लोककथाको विशेषता हो । लोककथा वा पौराणिक कथाले लोकविश्वास, अन्धविश्वास, धार्मिक चिन्तन वा अनुष्ठान बोलेको हुन्छ । हाम्रो मानसिकता निर्माण हुनुमा पनि लोककथा, पौराणिक कथा, किंवदन्ती वा धर्म–संस्कृतिको भव्य भूमिका हुन्छ । ‘जालिनी’ मेरो कथासङ्ग्रह ‘कैरन’भित्रको एउटा कथा, जसको शाब्दिक अर्थ हुन्छ– चित्रशाला ।

कुनै कालखण्डमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई कसरी घर वा पर्खालभित्र कैद गरियो ? शासक, उसका मतियार र आसेपासेले कसरी कुसंस्कार पनि निर्माण गरे ? उनीहरूले कसरी एउटा वर्गलाई भूमिहीन र दास बनाए ? त्यसले आजको समाजलाई के–कति असर गरेको छ ? यसबारे आजका मानिसलाई सोच्ने बनाउनु जालिनी कथाको ध्येय हो । कथा वा कथानक आफैंमा चित्र होइन, त्यसले तपाईंको मस्तिष्कमा कुनै चित्र दिने हो । निश्चय नै, त्यो चित्र वा दृश्य कथाले भन्दा बढी नाटकले दिन्छ ।ढुङ्गालाई मूर्तिमा ढाल्नुजस्तै हो, कथालाई नाटकमा ढालेर मञ्चन गर्नु । यो कथालाई नाटकमा ढाली मञ्चन गर्न निर्देशक, मञ्च र नेपथ्यका रङ्गकर्मीहरूको विशेष रियाज छ । जालिनी कथालाई नाटकमा ढाल्ने सबै रङ्गकर्मीप्रति आभारी छु ।

–ध्रुवसत्य परियार

Directional Note

‘कैरन’ कथा संग्रह पढिसकेपछि म भित्र धेरै कथाका धेरै दृश्यहरु चल्मलाउन थाले । सीधै नाटक बनाउँछु भन्ने लाग्यो तर कुन कथामाथि नाटक बनाउने भन्ने निश्चित भइसकेको थिएन । ध्रुवसत्यसँग पुरानै संगत भए पनि मेरो योजना सुनाउन आँट गरिन किनभने ध्रुवसत्यले जे भन्नु थियो उसले भनिसक्यो । अब मैले अर्को माध्यमबाट भन्दा त्यसरी नै स्पष्ट भन्न नसकुलाँ । आफुलाई रोकेर बाँधेर राखे ।तर मेरो भोगाइ र चेतले भनिरह्यो – नाटकको माध्यमबाट पनि त्यो कथाहरु भन् । फेरि कथाहरुबाट एउटा कथा छान्न थाले र हामी मण्डला टिमले छान्यौ ‘जालिनी’ ।

अनि ध्रुवसत्यलाई आँट गरेर भने — नाटक बनाउन मन लाग्यो । उसले पनि, ‘हुन्छ’ भन्यो र फेरि मैले थपे — यसलाई नाटक बनाउनु पर्छ, नाटक तिमीले बनाउनु पर्छ । उसले भन्यो — मैले त नाटक सोचेकै छैन कसरी बनाउने ?, ‘चिन्ता नगर हामी बसेर बनाईहाल्छौ नि । लेखकहरुले नाटक पनि लेखिदिन पर्यो ।’ यसो भनेर उच्काए, ऊ पनि हौसियो । एक किसिमले नाटक लेखिदियो । कलाकार साथीहरुसँग छलफल गर्दै निक्कै लामो प्रक्रियाबाट बन्यो जालिनी ।यो समय र साथको लागि मण्डला परिवार, लेखक ध्रुवसत्य, साथी कला अनुरागी र सबै कलाकार साथीहरु प्रति आभारी छु ।

–दयाहाङ राई

Off Stage