Jiudo Akash (जिउँदो आकाश)

Staged from July 28, 2017 to Aug. 5, 2017

ओझेलमा पारिएका अल्प सङ्ख्यकमध्ये तेस्रो लिङ्गी पनि एउटा समुदाय हो, जो जटिल सामाजिक संरचनामा जिउन बाध्य छ । राज्यबाट कानुनमा केही अधिकारहरू सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा खासै परिवर्तन पाइँदैन । जन्म दिएका कतिपय बुबाआमाबाट समेत उनीहरू अपहेलित हुनु परेको स्थिति छ । यही कारणले उनीहरू मानसिकरूपमा विक्षिप्त छन् । राज्यले उचित संरक्षण गर्न सकेको छैन । रोजगारीको पहुँचमा उनीहरू पुग्न सकेका छैनन् । समाजले वास्तविक कुरा बुझ्न सकेको छैन । विस्तारै विस्तारै यी अल्प समुदायका सदस्यहरू संगठित हुँदै छन् । त्यो पनि सहर बजारमा मात्रै । दूर दराजका कतिपय पीडित छन् । आफ्नो पीडा न पचाउन सक्छन् न कसैलाई सुनाएर मन हलुका पार्न सक्छन् । अभिभावकहरू पनि हिनता बोधमा बाँचिरहेको स्थिति देख्न सकिन्छ । यो सबै अनविज्ञताको कारणले भएको हो भन्ने ठहर मेरो छ । प्राकृतिक रूपमा हामी जसरी जन्म्यौ, त्यसलाई त्यसैगरी स्वीकार्नु हाम्रो कर्तव्य हो जस्तो लाग्छ मलाई । भाइ आर. के. मेहता रोशनले एक वर्ष पहिला नाटक तयार गर्नु पर्यो भनी प्रस्ताव राखे । उनैले विषय दिए । मैले सहर्ष स्वीकार गरेँ । तर, नाटक कसरी तयार पार्ने भन्नेतर्फ सोच्दा कुहिरोको काग बनेँ । किनकि हाम्रै समाजको एउटा अङ्ग भए पनि यसको विषयमा म जानकार थिइनँ । तर, कुहिरो जसरी पनि छिचोल्नु नै थियो । यात्रा गर्नुु नै थियो । चुनौती मोलेँ । केही प्रतिनिधि पात्रबाट सन्दर्भ सामग्रीमा सहयोग पाएँ । केही समय घोत्लिएँ । टिपोट गर्दै गएँ । इटालीमा बसेका भाइ रोशनसँग कम्प्युटरीय प्रविधि मार्फत क्रिया प्रतिक्रिया चलिरह्यो । पाण्डुलिपिको रूपरेखा तयार बन्दै गयो । उनले उहीँ बसेर नाट्याभ्यास गर्दै गए । वि.सं.२०७३ जेठ २९ गते नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको नाट्य महोत्सवमा दोलखाको चरीकोटमा यो नाटक पहिलो पटक मञ्चन भयो । उनी आफैँ निर्देशक र कलाकार बने । उनको धित अझै मरेको रहेनछ । यसलाई नियमित मञ्चन गरौँ भन्ने योजना बनाए । यस पालि उनले निर्देशन गरी कलाकार भाइ अनिल सुब्बालाई मञ्चमा उभ्याएका छन् । समय र स्थान जुरेको छ, सर्वनाम थिएटरमा ।डाँफे थिएटरको पहिलो प्रस्तुतिको रूपमा यो नाटक आएको छ । यसले डाँफे जस्तै स्वच्छन्द भई नेपाली रङ्गमञ्चमा यात्रा गरिरहोस् । रङ्गमञ्चयात्राको सारथि बनोस् । शुभकामना ! नाटक लेखन र मञ्चनमा साथ सहयोग दिने सबैलाई धन्यवाद । नाटक हेरिदिएर आफ्नो अमूल्य समय दिनुहुने सम्पूर्णमा हार्दिक नमन !

लेखक: चन्द्रप्रसाद पाण्डेय

Directional Note

नाटक गर्दा र गराउँदा विभिन्न चुनौतीहरू आउने गर्छन् । कहिलेकाहीँ नसोचेको नाजुक परिस्थिति आउँछ त कहिलेकाहीँ सहज हुने गर्छ । जे जस्तो परे पनि सबै कुराको सामना गर्दै जानुपर्छ रङ्गकर्मीले । मलाई यो विषयमा नाटक गर्ने इच्छा दुई वर्षअगाडि देखि नै थियो । ‘किन यस्तो म?’ शीर्षकको नाटकमा तेस्रो लिङ्गीको भूमिकामा काम गर्ने मौका पाएको थिएँ । तर, चित्तै बुझेन । चाहेको कुरा ल्याउन सकिनँ मेरो भूमिकाको लागि । त्यो नाटक गरिसकेपछि यो विषयमा अझ राम्रोसँग नाटक कसरी गर्ने भन्ने कुरा मेरो दिमागमा झुन्डिरह्यो । दुईवर्ष पछि एउटा कन्सेप्ट आयो अनि मैले चन्द्र दाइसँग कुरा गरेँ । उहाँलाई पनि बडा मन परेछ । भन्नुभयो,“ए ! ल म लेखिहाल्छु नि ।”नेपालमा मात्रै होइन अरू देशमा पनि यो समुदायका सदस्यलाई राम्रो तरिकाले हेरेको पाइँदैन । हाम्रै समाजको एउटा हिस्सा, जसलाई पछाडि पारिएको छ । हामी रङ्गकर्मी हरेक मुद्धाम ा काम गर्न चाहन्छौँ । नेपालमा तेस्रो लिङ्गीको विषयमाथि तयार पारी नियमित मञ्चन गरिएको यो पहिलो नाटक हो । यदि साथ पायौँ भने नेपाल भर यसलाई प्रदर्शन गर्न चाहन्छौँ । एक वर्षअघि दोलखाको चरीकोटमा यो नाटक देखाइयो । इटालीमा रहँदा पनि यो नाटकले तानिरह्यो । त्यसैले पुनः नियमित मञ्चन गर्ने क्रममा हामी जुटेका छौँ । यसमा कतिपय दृश्य काल्पनिक छन् भने कतिपय यथार्थ घटनामा आधारित छन् । यसको कथावस्तुले हरेक व्यक्तिको जीवनको कुनै न कुनै पलहरू याद दिलाउनेछ भन्ने आशा लिएको छु । यसमा साथ दिने सम्पूर्ण सहयोगी साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।

On Stage

Off Stage