Mahabhoj (महाभोज)

Staged from Aug. 31, 2019 to Sept. 29, 2019

लगभग चालीस वर्ष अगाडि लेखिएको महाभोजलाई तीन ‘पी’ मा यत्नपूर्वक बुनिएको छ – प्रेस, पोलिटिक्स र पुलिस । राजनीति, प्रहरी र मिडिया कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रव्यूहभित्र जनता कसरी कैद छन् भन्ने कुरा हिन्दूस्तानी साहित्यकार मन्नु भण्डारीले उपन्यासबाट नाटकमा रुपान्तरण गरेकी छिन् । र, अनुप बरालले यसलाई एपिक रुप र शैलीमा ढालेका छन् ।

कुनै अमुक गाउँमा घटेको हिंसात्मक घटनाको फिलिङ्गो सल्किदै शहर पुग्छ, अखवारको सम्पर्कमा आउँछ र राँकिएर त्यसले राजनीतिको केन्द्र र प्रहरी संयन्त्रलाई तताउँछ । 

सल्किएको घटनाको आगो कसरी निभ्छ ? निभ्छ वा प्रश्नको पुतपुतिएको कोइला बन्छ ? त्यसको जवाफ नाटकमै भेटिने छ । विचार र संवादको अवस्था श्रृजना गर्नेछ अनि विमर्शका प्रशस्त सम्भावनाहरु जन्माउनेछ ।



Directional Note

रङ्गकर्मीहरु भनेका समाजकै सदस्य हुन् । त्यसैले तिनले रच्ने रङ्गमञ्चको संसारमा समकालीन समाजले भोगेका राजनीतिक र सामाजिक अन्तरविरोधका तस्बिरहरु जीवन्त भएर आउनुपर्छ–आउँछन् । यसपटक नाट्य प्रस्तुतिका लागि ‘महाभोज’ रोज्नुको पछाडि त्यही सिद्धान्तले मलाई ‘स्टिम्यूलेट’ गरेको हो । राजनीति उत्कृष्ट नीतिमध्ये एक हो । तर, भ्रष्ट सोचले जब राजनीतिलाई निर्देशित गर्दछ,  त्यसको नेक्ससले समाजको तस्बिरलाई विद्रुप र विसङ्गत बनाईदिन्छ । यस कुराको सजीव चित्रण छ– महाभोजमा । 

सत्तरीको दशकमा भारतीय सुप्रसिद्ध साहित्यकार मन्नु भण्डारीले लेखेको महाभोज आजको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । र, महाभोजले खराब सिस्टम बिरुद्ध लड्न हिम्मत भएका ‘भल्नरेबल’ र निर्बल आममान्छेको छटपटी, आक्रोश र निराशाको गम्भीर गाथा पनि बुनेको छ । 

यस प्रस्तुतिमा समकालिन घटनाहरुलाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरिएको छ । नाट्य प्रस्तुति र यसको रुप, कथ्य र शैलीको प्रशिक्षणको क्रममा यस नाटकलाई मैले एपिक थिएटरको शैलीमा प्रस्तुत गर्ने निर्णय गरेँ । यस शैलीको उद्देश्य मनोरञ्जन या वास्तविकताको नक्कल गर्नु नभई विचारहरुलाई प्राथमिकता दिनु हुन्छ । यस धारको प्रस्तुतिले दर्शकहरुलाई विचारबारे स्वनिर्णय लिनकालागि आमन्त्रित गर्दछ र दर्शकहरु नाटक हेरेर घर फर्कँदै गर्दा भावनाको कैदी भएर होइन, मानसिक रुपमा अधिक शिक्षित भएर फर्किउन् भन्ने अपेक्षा राख्दछ ।

तीन पुस्ताका रङ्गकर्मीहरुमाझ बसेर एउटा ‘एन्सेम्बल वर्क’ गर्न पाउँदा यस प्रस्तुतिले एउटा बेग्लै डाईनामिक्स पाएको छ भन्ने मेरो विश्वास छ । थिएटर यात्रामा यस्तो सुन्दर र स्मरणीय वातावरणको संयोजनका अभियन्ता मण्डला थिएटर परिवारलाई हार्दिक साधुवाद । महाभोज नाटकलाई नेपालीमा सुन्दर र प्रभावकारी रुपमा भावानुवाद गर्ने कवि दाजु विप्लव प्रतीकप्रति हार्दिक आभार । नाटकसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सम्बद्ध र संलग्न सबै प्रिय स्रष्टाहरु प्रति हार्दिक कृतज्ञता ।



Off Stage