शिरीषको फूल (Shirishko Phul)

Staged from March 11, 2022 to March 26, 2022

नाटक ‘शिरीषको फूल’ सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास ‘शिरीषको फूल’ (वि.स.२०२२)मा आधारित छ ।
यो नाटक दोस्रो विश्वयुद्धपछिको मानवीय संवेदना र विसंगत सामाजिक परिवेशबीच युद्धबाट फर्केका ४५ वर्षीय सुयोगवीर सिंह र जीवनलाई आफ्नै दृष्टिकोणले हेर्ने, स्वच्छन्द २५ वर्षीय सकमबरी र उनका परिवारसँगको सम्बन्धको कथाको दृश्य भाषा हो । अविवाहित सुयोगवीरको महिलाप्रतिको दृष्टिकोण र सकमबरीको आत्मसम्मान, स्वच्छन्दता साथै स्वतन्त्रताको दर्शनबीच उत्पन्न हुने अन्तद्र्वन्द्व नाटकमा छ । समग्रमा पितृसत्तात्मक चिन्तन र नारीवादी चेतनाबीचको विमर्श नै ‘शिरीषको फूल’को अन्तर्वस्तु हो ।


युद्धको विस्मृतिले विक्षिप्त भएका सुयोगवीर संयोगवस आमभन्दा फरक चेतकी सकमबरीसामु पुग्छन् । विगतलाई छोपेर वर्तमान बाँचेका सुयोगवीरले फूल अर्थात् सकमबरीमाथि कुण्ठाद्वारा प्रेरित आक्रमण गर्छन् । सो आक्रमणको नजिता बरीको मृत्यु र त्यसपछिको कर्ता सुयोगवीरको कहालीलाग्दो विक्षिप्त समय नाटकको समापन हो । तर यसै समापनसँगै अनेकन प्रश्नहरुको सुरुवात पनि ।
जीवघातक सुनगाभा र कमलो शिरीषको फूलबीचको द्वन्द्वान्तमक प्रसंगसँगै जीवनबाट ओझेल भएकी अर्को फूल सकमबरी ‘ओझेल परेकी हुन् वा ओझेल पारिएकी हुन् ?’, ‘जीवन सक्याएकी हुन् वा तत्कालिन सामाजिक परिवेशमा विद्रोह गरेकी हुन् ?’ यस्ता प्रश्नहरुको नाटकको समापनले सुरुवात गर्न सक्यो भने हामीले रङ्गमञ्चमार्फत गरेको ‘शिरीषको फूल’को विश्लेषण र प्रस्तुतिले केही हदसम्म सार्थकता पाउलान् ।
हाम्रो विनम्रता यत्तिमात्र हो की ‘शिरीषको फूल’लाई प्रचलित र निकै प्रसारित ‘शून्यवाद’को चस्माले मात्र नहेरिदिनु । हामी यहाँ भन्न चाहन्छौं, ‘हामीले जगतमा अनेकन मृत्युहरु सुनेका छौं, पढेका छौं, देखेका पनि छौं । मृत्युका आयामहरु हुन्छन्, मृत्यु शून्यता मात्र होइन, यो विमर्श पनि हो ।’
नाटक ‘शिरीषको फूल’ एक साहित्यिक कृतिमाथिको रङ्मञ्चीय कला तथा सौन्दर्य मूल्यको अभिव्यक्ति हो । साथै समसामयिक सामाजिक¬–राजनीतिक विमर्श हो । साथै यसरी साहित्यिक कृतिलाई रङ्मञ्चीय रुप दिनु पाठक र दर्शकको नयाँ पुस्तामाझ पनि यसको विषय र प्रसंगमा सामयिक वहसको सिर्जना गर्नु हो भन्ने ठानेका छौं । नेपाली नाटकहरु कम लेखिएको यस समयमा साहित्यिक कृतिमा आधारित नाटक तयार हुनु नेपाली रङ्गमञ्चका लागि सुन्दर विकल्प हुनसक्छ ।
– केदार श्रेष्ठ, परिकल्पनाकार

Directional Note

निर्देशनभन्दा पहिला दर्शन आउँछ, दर्शन अर्थात् देख्नु ! यस अर्थमा निर्देशक नाटकको पहिलो दर्शक हो । पारिजातलाई मैले पहिलोपल्ट स्कूले जीवनमा पढेको हुँ । त्यसबेला मलाई पारिजातसम्म पुर्याइदिने पुल थियो, यही ‘शिरीषको फूल’ । त्यसयता मैले पारिजातलाई कतिपटक पढेँ, खास हेक्का छैन । साहित्यलाई बुझ्दै पछ्याउँदै गरेको समयमा कैयौँपटक ‘सकमबरी’ र ‘सुयोगवीर’हरु मेरो मानसमा अनेकन बिम्बहरु बनेर आएका छन् । नाटक ‘शिरीषको फूल’ तिनै बिम्बहरुको संयुक्त कोलाज हो ।
रङ्गगमञ्च सामूहिकता र सामयिकताको अभ्यास हो । अतः यस नाटकलाई मञ्चसम्म ल्याइपु¥याउन सोही सामूहिकता र सामयिकताको हिस्सा बन्नुहुने सबैप्रति आभारी छुु । यस अभ्यासका अनन्त उर्जाहरु ‘चौथो आयाम’का सहपाठी साथीहरु, थिएटर मल–कीर्तिपुर रङ्गमञ्च, र दाइ केदार श्रेष्ठप्रति अनुगृहित छु ।
यो सामूहिक प्रयासलाई परिपक्वतातिर दिशानिर्देश गर्न यहाँहरुका सल्लाह, सुझाव, तथा प्रतिक्रियाहरु अवश्यमेव लाभदायक हुनेछन् । शुभमस्तु !
– अन्जान प्रदीप, निर्देशक

On Stage

Off Stage