Sirumarani (सिरुमारानी)

Staged from Feb. 15, 2018 to Feb. 27, 2018

घना जंगलबीचको कुनै एउटा गाउँमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने एउटा माछे छ । उसको जालमा एक दिन अनौठो प्रकारको माछा पर्छ । माछेले कहिल्यै पनि त्यस्तो माछा देखेको हुँदैन । घर पुगेर आफ्नो पेरुङ्गोबाट त्यो माछा निकाल्दा माछा एक अनिध्य सुन्दरीमा प्रकट हुन्छे । सुन्दरी श्रापित नागराजकुमारी हो भन्ने कुरा माछेले सुन्दरीबाटै थाहा पाउँछ । सुन्दरीसँग माछेले घरजम गर्छ । उनीहरुको एक छोरी जन्मिन्छे – सिरु । छोरी जन्मेपछि सुन्दरी नागलोक नै फर्किन्छे । त्यतीबेलै एकजना आँखा नदेख्ने भविष्यवक्ताले सिरु चक्रवर्ती महाराजाकी रानी हुने कुरा भविष्यवाणी गरिदिन्छन् । सिरु १६ वर्षकी हुँदा गाउँकै ढाक्रेको छोरोसँग प्रेममा पर्छे । तर सिरुको विहे चक्रवर्ती महाराजसँग नै हुन्छ । चक्रवर्ती महाराजले आफनो युवराज छोरासँग उमेर र जवानी साटफेर गरेको सिरुले दरवार पुगेपछि थाह पाउँछे । ‘आफ्नो पति को हो ?’ भन्ने दुविधामा सिरु पर्छे । उसले आफ्नो दुविधाको समाधान खोज्दा चक्रवर्ती राजाको दरबार तहसनहस हुन्छ ।
पोखरेली रंगकर्मी तथा लेखक सरुभक्तद्वारा डेढ दशकअघि लेखिएको नाटक सिरुमारानीमा एउटी नारीले आफूमाथि जवरजस्ती लादिएको कर्तव्यको सट्टामा आफ्नो नारीधर्म बचाउन गरेको संघर्षको कथा भनिएको छ । लोकशैलीमा लेखिएको नाटक मूलतः प्रेमकथामा आधारित छ ।

Directional Note

कुनै पनि आलेख एकपटक पढिसकेपछि त्यसले पाठकको दिमागमा एक किसिमको चित्र बनाउँछ, त्यो चित्र कहिले स्थायी हुन्छ, कहिले अस्थायी । नाटक सिरुमारानी मैले पटकपटक पढेको छु । हरेकपटक पढ्दा त्यसले मेरो दिमागमा भिन्न चित्रहरु बनाएको छ । कुनै चित्रहरु स्थायी छैनन् । अध्ययन र अनुभवसँगै तपाईंका दृष्टिकोणहरु बदलिने रहेछन् । चित्र चैं दृष्टिकोणले बनाउने रहेछ । यो नाटकलाई मेरो अहिलेको दृष्टिकोणको रुपमा प्रस्तुत गर्न चाहे । अव नाटकका बारेमा बोल्नुको सान्दर्भिकता सकिसक्यो जस्तो लागेको छ ।
पोखरामा बन्न लागेको पहिलो व्यवसायिक नाटकघरमा मञ्चन हुने पहिलो नाटक निर्देशन गर्न पाउनुलाई चुनौतिसँगै अवसरका रुपमा पनि लिएको छु । सवैजनाको अथक मेहेनतले यो नाटक बनेको छ । हेर्न लायक बन्यो कि बनेन, यो प्रश्न मनमा डरलाग्दो गरी उभिएको छ । यसअघिका सवै अनुभव र अहम्हरु धर्मराएका छन् । नाटक गर्ने (र अझ विशेषगरी काठमाडौंबाहिर नाटक गर्ने) तीव्र आकांक्षाको बलमा यो नाटक निर्माण भएको छ ।
मलाई विश्वास गरेर नाटकमार्फत सहयात्रा गर्ने अनुमति दिनुभएकोमा अग्रज पोखरेली रंगकर्मीहरु सरुभक्त, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग र पोखरा थिएटरका नयाँ पुराना रंगकर्मी साथीहरुप्रति आभार प्रकट गर्दछु । नाटकको पोस्टर स्केच बनाइदिनुहुने वरिष्ठ कलाकार आदरणीय दुर्गा बरालप्रति म कृतज्ञ छु । नाटक निर्माणमा प्रेरणा दिनुहुने आदरणीय गुरु राजन खतिवडा, दयाहाङ राई, मण्डला थिएटरका साथीहरु लगायत पोखरेली रंगमञ्चलाई माया गरी नाटक हेर्न आउनुहुने तपाईं सम्पूर्ण दर्शकहरुलाई नमन गर्न चाहन्छु ।
संसारका सवै आमा, दिदीबहिनी, श्रीमती अनि संघर्षशील महिलाहरुलाई यो नाटक समर्पण गर्न चाहन्छु । नाटक नराम्रो लागे मलाई भन्दिनु होला, राम्रो लागे कलाकार साथीहरुलाई अनि तपाईंका अन्य साथीभाई आफन्तलाई ।
बाँकि भूलचुक त लिउँलादिउँला!

On Stage