Teen Ekanta (तीन एकान्त)

Staged from Aug. 7, 2015 to Aug. 25, 2015

तीन एकान्त, तीन जना मानिसका एकान्तिक अनुभूतिसंग सम्बन्धित कथाको कोलाज पर्फर्मेन्स हो । जसमा भारतीय नयाँ कथाका सुत्रधार निर्मल वर्माको तीन कथा धुपका एक टुकडा, डेढ ईन्च उपर र विकेन्ड समावेश छ । यी तीन वटा कथामा एक एक जना यस्ता पात्र छन् जसले सुरु देखि अन्तसम्म एउटा लामो संवाद बोल्छन । कथामा संवादको सुरुवात कुनै दोस्रो पात्रसंग हुन्छ र थाहै नभैकन यी संवादहरु स्व केन्द्रित हुदै जान्छन । अन्ततः यी कथाहरु पात्रहरुको एक्लोपनको साक्षात्कार बन्न पुग्छ ।

Directional Note

कथालाई तलमाथि गरेर शब्दहरुलाई फेरेर त्यसको मुल स्वरूपलाई भत्काएर पनि नाटक गर्न सकिन्छ । तर त्यो कथा, कथा नभएर नयाँ नाटक बन्छ । यहाँ हामी कथाको स्वभावलाइ तल माथि नचलाईकन त्यस्तो प्रस्तुति गर्ने कोशिश गरिरहेका छौ – जसले कथाको आन्तरिक गुणलाइ बचाई राखोस र साथसाथै नाटक हेरिरहँदाको अनुभूति पनि देओस । एउटा पाठकका रुपमा मलाई जहिलेसुकै स्थुल र सपाट कथाहरुले भन्दा पनि त्यसको सुक्ष्मताले छुन्छ र ठुलाठुला “इश्यु”ले भन्दा पात्रका ससाना भोगाई र समवेदनाले तान्छन । निर्मल वर्माका तीन कथालाई रोज्नुका पछाडी पात्रहरुको ससाना भोगाई, समवेदना र उनको लेखन शिल्प सामर्थ्य नै हो । उनका कथाहरुमा दैनिक जीवनका अत्यन्त ससाना मिहिन चिजहरु एउटा आत्मीय लयका साथ मनभित्र छिर्छन र हामीलाई मानबिय सम्बन्धको गहिराइभित्र लिएर जान्छन् । अनि हाम्रा ईन्द्रियलाई यसरी छुन्छन – कतै भाग्न सकिदैन । तीन एकान्त तीनजना मानिसहरुका जीवनको ऐकान्तिक अनुभव र स्मृतिको “बोहीमियन” यात्रा हो । यो केकको “स्लाइस” जत्तिकै सानो छ, तर गहिराईमा सागर जत्तिकै अनन्त ।

सम्झना बन्नु अथवा सम्झना मा आउनु या सम्झनामा रही रहनुमा एउटा ठुलो शक्ति हुदो रहेछ ति दिनहरुमा पनि र यी दिनहरुमा पनि ....
– अनुप बराल

Off Stage