Pokhara Theatre (गन्धर्व नाटकघर)

पोखरा थिएटर प्रदेश नं ४ मै पहिलोपल्ट स्थापना भएको नाटकघर हो । सात दशक लामो पोखरेली रंगमञ्चमा हालसम्म एउटा पनि नाटकघर निर्माण हुन नसकेको सन्दर्भमा कलात्मक र व्यवसायिक रंगमञ्च गर्ने उद्देश्यले यसको स्थापना भएको हो । नाटकघरको निर्माण कार्य विधिवत रुपमा २०७३ चैत्र १४ गते विश्व रङ्गमञ्च दिवसको दिनमा शुरु भएको हो । निर्माण थालनी भएको १० महिनामा नाटकघरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ । भौतिक संरचना निर्माणको लागि १० महिना लागे पनि नाटकघरको अवधारणा विकास र त्यसलाई मूर्त रुप दिने अवस्थासम्म आइपुग्न करिब तीन वर्ष लागेको छ ।


नाटकघरको निर्माण कार्य सम्पन्न गर्न कुल ८० लाख रुपैयाँको लागत लागेको छ । नाटकघर २०० सिट क्षमताको रहेको छ भने एकैसाथ एक सय सवारी साधनलाई पार्किङको व्यवस्था रहेको छ । नाटकघरलाई वहुउद्देश्यीय हलका रुपमा निर्माण गरिएको छ । यसमा नाटकका अलावा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्न सकिनेछ ।
यो नाटकघरको निर्माणले पोखरामा पृष्ठभूमि तयार गरेर अन्यत्र अवसरको खोजीमा लागेका र सम्भावना बोकेका रङ्गकर्मीहरुलाई पोखरामै साधना गर्ने वातावरण सिर्जना गर्न सक्ने विश्वास गर्न सकिन्छ । थिएटरको नाटक हेर्ने रहर गर्नेहरु राजधानी काठमाडौँ नै धाउनुपर्ने बाध्यतालाई यसले न्युनीकरण मात्र गर्ने छैन, नयाँ नेपालको नयाँ संरचनाअनुसार नाटकको विकासका लागि विकेन्द्रीकरणको सम्भावनाको ढोकासमेत खोलेको छ । पोखरामा यसले रङ्गमञ्चलाई नियमितता र व्यावसायिकता दिनका लागि पनि मार्गप्रशस्त गर्ने छ भन्ने हामीले विश्वास लिएका छौँ ।

9856036409

Gairapatan, Pokhara Nepal