Bhrikuti (भृकुटी)

Staged from March 16, 2017 to April 1, 2017

भृकुटी – एउटा इतिहास, एउटा मिथ र नारीत्वको एउटा श्रेष्ठतम रूप ! नारी पुरुष समानताका अनेक सङ्घर्ष, नारीवादी अभियानका अनेक गाथागायनपछि पनि अहिलेको एक्काइसौँ शताब्दीमा नारीहरू यथार्थमा कति स्वतन्त्र छन् भन्ने प्रश्न गर्नुपर्ने अवस्थामा भृकुटीको तारकीय आलोकको महिमा बुझ्नु सरल छैन । त्यहीमाथि भृकुटीको सप्रमाण इतिहास शून्यप्राय रहेको स्थितिमा नाटकको रचनाको प्रयास मलाई चुनौतीपूर्ण लागेको हो । तर, मलाई भृकुटीमाथि अन्त्यहिन प्रयासहरू भइरहनु पर्छ भन्ने लाग्छ ।
- सरुभक्त

Directional Note

उराठ र जञ्जर भएको भिन्न समुदायमा गएर आफ्नो प्रभाव छोड्न सकेकी भृकुटीलाई नाटकमार्फत बुझ्ने र ब्युँताउने प्रयास गरेकी छु । सातौँ शताब्दीमा हाम्रो पुरुषप्रधान समाजमा नारी भएर पनि आफ्नो सामाजिक परम्परा, संस्कृतिलाई अर्को देशमा लगेर स्थापना गर्ने विश्वास र आत्मबल भएकी भृकुटीको इतिहासको त्यस्तो उल्लेखनीय कथा लुप्त हन लागेको भान भएर यस विषयमाथि लेखिएको नाटक मञ्चन गर्ने प्रयास गरेकी छु । नाटककार सरुभक्तले मलाई निर्देशन गर्ने मौका दिनुभयो । उहाँप्रति म निकै आभारी छु ।
शिल्पी मेरो लागि कर्मभूमि हो, जहाँ म जीवनको अर्थ खोज्दै छु । यस क्रममा मलाई सधैँ अभिभावक भएर साथ दिनुहुने कुमार आले सर, घिमिरे युवराज सर, जीवन दाइ, चन्द्र सर र शिल्पीका साथीहरुप्रति म हृदयदेखि आभारी छु । यो नाटक मेरो पहिलो निर्देशन हो । त्यसमा पनि वरिष्ठ नाटककार सरुभक्तको नाटकमा काम गर्ने अवसर मिलेको छ । म एकदम खुसी छु । यसअघि मैले केही नाटकमा सहायक भएर काम गरेको अनुभवले गर्दा निर्देशनका लागि केही सजिलो पनि भयो । तर निर्देशनका लागि म पूर्ण रुपमा तयार भएको रहेनछु भन्ने महसुस पनि नभएको होइन । नाटक तयार पार्ने क्रममा मलाई प्रत्यक्ष सहयोग गर्नु हुने युवराज सरप्रति म आभारी छु । कुमार सर र जीवन दाइको साथ नभएको भए नाटकले यो रुप लिने थिएन । सहकर्मी सबिनले नाटकको तयारीमा धेरै ठूलो सहयोग गरेका छन् । शिल्पीले मलाई विश्वास गरेर दिएको यो काममा म कतिसम्म सफल हुन सकेँ वा सकिनँ यो हजुरहरुको हातमा छोडेँ । यो नाटकमा साथ दिनुहुने सबैमा आभार व्यक्त गर्दछु । म शिल्पी थिएटर परिवारप्रति आभार प्रकट गर्दछु । नाटकमा देखिएका कमीकमजोरीहरूलाई सच्याइदिई सुझाव दिनुहुनेछ भन्ने विश्वास छ ।

On Stage

Off Stage