Antigone (एन्टीगोनी)

Staged from July 7, 2017 to Aug. 6, 2017

प्राचीन ग्रीसेली नाटककार सोफोक्लिजद्वारा इशापूर्व ४४१ ताका ‘थेविजका नाटकहरु’ अन्र्तगत लेखिएको नाटक ‘एन्टीगोनी’लाई संसारप्रसिद्ध दुःखान्त नाटकहरु मध्येको एक अनुपम उदाहरण मानिन्छ । राजा इडिपसको शासनकालमा थेविज राज्यको भाग्य कस्तो थियो भनेर वर्णन गर्दै सोफोक्लिजले लेखेका नाटकहरु ‘थेवन नाटक घराना’मा पर्छन् । यस घरानाका तीन नाटकहरुमध्येको एक, नाटक एन्टीगोनीले नागरिक अवज्ञा, मानवीय निष्ठा र विवेकको बारेमा बयान गर्दछ । सोही घरानाका अन्य दुई नाटकहरु भन्दा अगाडि लेखिएको भएतापनि क्रम अनुसार थेवन नाटकको अन्तिममा यो नाटक पर्छ । ‘इडिपस द किङ्ग’ र ‘इडिपस इन कोेलोनस’को कथा सकिएपछि नाटक एन्टीगोनीको कथा अगाडि बढ्छ । इडिपसका दुई छोराहरु एटियोक्लिज र पोलिनिससले सत्ताप्राप्तीका लागि एकआपसमा गरेको युद्ध र त्यसको समाप्तीसँगै नाटक एन्टीगोेनीको घटनाक्रम शुरु हुन्छ ।

इडिपसले सत्ता छाड्ने बेलामा आफ्ना दुवै भाई छोरालाई मिलेर राज्य चलाउनु भनेर छाडेपनि एटियोक्लिजले पोलिनिससलाई सत्ता सञ्चालनको साथी बनाउन नचाहेपछि शुरु भएको यो युद्धमा अन्ततः दुवै दाजुभाईले ज्यान गुमाउँछन् । यसपछि राजा बनेका इडिपसका साला तथा मामा क्रियोनले एटियोक्लिज र पोलिनिससको लाशहरुसित बेग्लाबेग्लै व्यवहार गर्ने निर्णय गर्छन् । एटियोक्लिज देशका लागि लड्दालड्दै मरेको हुनाले उसलाई राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने तर पोलिनिससले देशद्रोह गरेको हुनाले उसको लाशलाई कुनै संस्कार नगरी त्यत्तिकै कुहिन छाडिदिने घोषणा उनले गर्छन् । यस्तो क्रुर घोषणाको विरुद्धमा एटियोक्लिज र पोलिनिससकी दुईमध्येकी एक बहिनी एन्टीगोनीले अवज्ञाको प्रतिघोषणा गरेसँगै कथाले नाटकीय रुप लिन्छ ।मण्डला थिएटर नेपालले आफ्ना दर्शकहरुका लागि भनेर एन्टीगोनीलाई नेपालीमा मञ्चन गर्दैछ । अनुवादित नाटकहरुलाई प्रायः रुपान्तरण गरेर गर्ने गरिएको भएतापनि यो नाटक नेपाली रुपान्तरण होइन बरु भावानुवादसहितको सीधा ब्याख्या हो । ड्युड्ले फिट्स र रोबर्ट फिजराल्डको अंग्रेजी संस्करणमा आधारित भएर यसलाई नेपालीमा अनुवाद गरिएको हो ।
नाटककारको बारेमा

प्राचीन ग्रीसेली नाटकहरुको कुरा गर्दा तीनजना नाटककारहरुले लेखेका नाटक भेटाइन्छन् । उनै तीन नाटककारमध्येका एक हुन् सोफोक्लिज । उनी एस्सिलसभन्दा पछिका र युरिपाइड्सभन्दा अघिका नाटककार मानिन्छन् । सोफोक्लिजले आफ्नो जीवनकालमा १२० वटा नाटक लेखेतापनि ७ वटा नाटक मात्रै पूर्ण अस्तित्वमा छन् । प्राचीन ग्रीसको राजधानी एथेन्समा हरेक वर्ष चाडपर्वका अवसरमा गरिने नाट्य उत्सवमा सवैभन्दा बढी बिजेता बन्ने नाटककार सोफोक्लिजले ३० पटक सहभागी हुँदा १८ पटक प्रथम पुरस्कार जितेका थिए भने बाँकीमा पनि दोश्रोभन्दा तल हुनुपरेन । उनका पूर्ववर्ती नाटककार एस्सेलिसले उक्त प्रतियोगितामा १४ पटक जितेका थिए, कहिलेकाहिँ त सोफोक्लिजले उनलाई पनि जित्ने गर्थे । युरिपाइड्सले जम्मा ५ पटक यो प्रतियोगिता जिते ।
सोफोक्लिजलाई ग्रीसेली नाटकमा चरित्र विकासका लागि बढी सम्झीइन्छ । कोरसमार्फत कथा भनीने प्राचीन नाटकहरुको सूत्रमा थपथाप गर्दै उनले अतिरिक्त चरित्रको निर्माण गरेका थिए जसलाई उनका अग्रज नाटककार एस्सिलसले पनि आफ्नो अन्तिम कालतिर पछ्याएको पाइन्छ । पश्चिमेली साहित्यका प्रसिद्ध विचारक अरस्तुले आफ्नो पुस्तक ‘पोयटिक्स’मा सोफोक्लिजका नाटकहरुको दृष्टान्त दिदैं उनलाई ‘महान दुःखान्त नाटककार’ भनेका छन् ।

Directional Note

सोचेर ल्याउँदा, धेरैजसो समय मलाई रंगमञ्चले घिसारेको रहेछ । अनि कुनै समय मैले पनि यसलाई घिसारेको रहेछु । यो क्रममा अधिकांशतः समय म रल्लीरहेको हुँदोरहेछु, मनचिन्ते जस्तै भएर । यस्तो बेला मलाई मण्डलाका साथीहरुले घच्घच्याउँदा रहेछन् अनि म नाटक तयारी प्रक्रियामा जुट्दोरहेछु । आज आएर निर्देशकीय लेख्न बस्दै गर्दा पो बल्ल महशुस भयो । किनभने, यो पटक पनि दुरुस्तै त्यस्तै भएको छ । म कता कता बरालिइरहेका बेला शंकर तिवारीजीले हिन्दीबाट अनुवाद गरिएको पुरानो हस्तलिखित पाण्डुलिपी ल्याएर दिनुभयो । प्रदिपले हतार–हतार टाइप गरे । कोलकाता निवासी रंगकर्मी दाजु विक्रम परियारले कुनै समय आफैं खेल्छु भनेर अनुवाद गर्नुभएको पाण्डुलिपीमा मूलपाठका केही कुराहरु छुटेका रैछन् । टाइप गरीसकेर पढ्न बस्दा त्यसलाई अझैं राम्रो बनाउन सकिन्छ भन्ने भयो । अंग्रेजी भर्सनको पटकथा खोजेर अनुवादको काम फेरि शुरु गरियो । त्यसमा सोमले नेतृत्व लिए । समय धेरै थिएन । प्रदिपले निर्देशनमा सघाउँछु भने, बिकाशले मञ्चको जिम्मा लिए । सिर्जना, बिजय, उमेशलगायतले जस्तोसुकै, जत्रोसुकै भूमिका खेल्ने भए । यसरी धेरैजना मानिसहरुले आफूले जिम्मा लिदैं मलाई समेत जिम्मेवार बनाए । यसरी जिम्मेवारी बहन गर्न पाएकोमा म खुशी छु । दया, नबिना, सर्मिला र सपनाले व्यवस्थापकीय पक्षबाट प्रेरणा मात्र नदिएको भएपनि यो सम्भव हुने थिएन । आदिम कालखण्डमा लेखिएको ग्रीसेली नाटकले उठाएको गम्भिर विषय, भावना, जीवन र विचारहरु धेरै ठाउँमा हाम्रा जस्ता लाग्छन् । सायद त्यसैले हामीलाई यो नाटक मञ्चन गर्न प्रेरित गरेको हो । भनिसकियो –छोटो समयमा यो नाटक तयार पार्नु सामान्य कुरो थिएन । तर चुनौती मोल्न बानी परिसकेको हाम्रो पुरै समूह यसमा होमियौ । कतै परम्परागत त कतै प्रयोगात्मक तरिका अपनाउँदै यो नाटक तयार पारेका छौं । लेखक, अनुवादकहरु, मण्डलाका सबै सदस्यहरु र नाटक तयारीमा सघाउनु हुने सबै प्रति आभारी छु । नाटकघरसम्म आएर नाटक हेरिदिनहुन र आफ्नो प्रतिक्रिया जनाइदिनहुन आदरणीय दर्शकहरुसँग आग्रह गर्दछु ।

Off Stage